Section 10
सपुर्दगी सम्बन्धी कारबाही अघि बढाउनु पर्ने

(१) दफा ९ बमोजिम अनुरोध प्राप्त भएमा मन्त्रालयले त्यस्तो अनुरोध साथ संलग्न विवरण, कागजात, प्रमाण र कसूरको तथ्यहरुको अध्ययन र जाँचबुझ गरी सपुर्दगीको कारबाही अघि बढाउने वा नबढाउने सम्बन्धमा पन्ध्र दिनभित्र निर्णय गर्नु पर्नेछ ।

(२) उपदफा (१) बमोजिम अध्ययन र जाँचबुझ गर्दा अनुरोध साथ प्राप्त विवरण, कागजात तथा प्रमाण सपुर्दगीको लागि कारबाही अघि बढाउन पर्याप्त नदेखिएमा मन्त्रालयले थप विवरण, कागजात तथा प्रमाण पेश गर्नको लागि कूटनीतिक माध्यम मार्फत माग गर्ने राज्यलाई लेखी पठाउन सक्नेछ ।

(३) उपदफा (१) बमोजिम सपुर्दगीको कारबाही अघि बढाउने निर्णय भएमा मन्त्रालयले सम्बन्धित जिल्ला सरकारी वकील मार्फत फरार अभियुक्त वा कसूरदारलाई सपुर्दगी गर्न अदालतको अनुमतिको लागि सम्बन्धित जिल्ला अदालतमा प्रतिवेदन पेश गर्न लगाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई आदेश दिनु पर्नेछ ।

(४) उपदफा (३) बमोजिम सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई आदेश दिंदा फरार अभियुक्त वा कसूरदारलाई पक्राउ गर्नको लागि माग गर्ने राज्यको अधिकार प्राप्त अधिकारीबाट जारी गरिएको वारेण्ट समेत पठाई त्यस्तो फरार अभियुक्त वा कसूरदारलाई पक्राउ गर्न लगाउनु पर्नेछ ।

(५) उपदफा (१) बमोजिम सपुर्दगीको कारबाही अघि नबढाउने गरी निर्णय भएमा मन्त्रालयले सो निर्णयको व्यहोरा तथा फरार अभियुक्त वा कसूरदार पक्राउ भए वा नभएको जानकारी कूटनीतिक माध्यम मार्फत माग गर्ने राज्यलाई तुरुन्त दिनु पर्नेछ ।